केहि समयदेखि व्यवसाय गर्ने आफ्नो नयाँ सोचलाई हजुरले भर्खरै कम्पनीको स्वरूप दिनुभएको छ| आफ्नो कम्पनीको लागि हजुरले नाम सोच्नुभयो, प्रबन्धपत्र तथा नियमावली तयार परि सहिछाप गर्नुभयो र अधिकृत पुंजी अनुसारको राजस्व तिरेर कम्पनी रजिस्ट्रार कार्यालयबाट कम्पनी दर्ता प्रमाणपत्र प्राप्त गर्नुभयो| कम्पनी दर्ता प्रमाणपत्रसंगै हजुरले एउटा पत्र प्राप्त गर्नुहुन्छ जसमा लेखिएको हुन्छ “स्थाई लेखा नम्बर सुरक्षित गरिएको”|
स्थाई लेखा नम्बर (PAN)
हरेक कम्पनीको दर्तासंगै यसलाई स्थाई लेखा नम्बर प्रदान गरिन्छ| दर्ता भएसंगै कम्पनी एक सेयरहोल्डरबाट स्वतन्त्र निकाय हुने भएकाले यसलाई छुट्टै स्थाई लेखा नम्बर दिईएको हो| सेयरहोल्डरको स्थाई लेखा नम्बर र कम्पनीको नम्बर फरक हुनुपर्छ| साथै कुनै कम्पनी एकल सेयर धनीले खोल्नुभएको छ भने पनि यसको स्थाई लेखा नम्बर फरक नै हुनुपर्ने प्रावधान छ|
अंग्रेजीमा स्थाई लेखा नम्बरलाई Permanent Account Number भनिन्छ र छोटकरीमा PAN लेख्ने चलन छ| यसैकारण नेपालीमा पनि यसलाई प्यान नम्बर भनि सम्बोधन गरिएको पाइन्छ| तर यो प्यान नम्बर दर्ताको क्रममा सुरक्षित मात्र गरिएको हुन्छ| अधिकारिक रुपमा यसलाई प्रयोग गर्न भने कम्पनीको अधिकारिक कार्यालय रहेको अन्तरिक राजस्व कार्यालयमा गई दर्ता गर्नुपर्ने हुन्छ| कम्पनी रजिस्ट्रार कार्यालयबाट स्थाई लेखा नम्बर सुरक्षित गरिएको पत्रको मात्र भरमा प्यानमा दर्ता भएको मान्न सकिन्न|
अन्तरिक कार्यालयमा गई प्यान नम्बर लिन के के चाहिन्छ त?
१. कम्पनी दर्ता प्रमाणपत्र
२. कम्पनी रजिस्ट्रार कार्यालयबाट प्राप्त पत्र
३. कार्यालय भाडामा भए बहाल सम्झौतापत्र, यदि आफ्नै निवासमा भए लालपुर्जा
४. कोहि एक सेयरधनीको व्यक्तिगत प्यान
५. अन्तरिक राजस्व कार्यालयको वेबसाइटबाट भरिएको निवेदन
६. प्यान दर्ताको लागि बोर्ड माइनुट
प्यान नम्बरको प्रयोग
यसरि हजुरले आफ्नो कम्पनीको स्थाई लेखा नम्बर अर्थात् प्यान नम्बर हासिल गर्न सक्नुहुन्छ| र यो हरेक कम्पनीको लागि अत्यावश्यक छ| हजुरको कम्पनीले कुनै कारोबार नगरेको भएतापनि स्थाई लेखा नम्बर लिनुपर्छ| स्थाई लेखा नम्बरको आवश्यकता कम्पनीको लागि निम्न कामहरुमा पर्ने गर्छन:
१. मूल्य अभिबृधि कर (VAT) मा दर्ता हुन,
२. EXIM (आयात निर्यात कोड) हासिल गर्न,
३. बैंक खाता खोल्न,
४. वार्षिक कर विवरण बुझाउन, इत्याधि|
मूल्य अभिवृध्दि कर (VAT)
अब कुरा गरौँ मूल्य अभिवृध्दि करको| यसलाई अंग्रेजीमा Value Added Tax भनिन्छ र छोटकरीमा VAT भनिन्छ| त्यसैले नेपालीमा भ्याट नम्बर भनि चिनिने गर्छ| धेरैजसो उधमी मित्रहरु आफ्नो नयाँ कम्पनीलाई प्यान मा दर्ता गर्ने कि भ्याटमा भनि अलमलमा पर्ने गर्नुभएको छ| यसमा मुख्य भूमिका खेल्छ हजुरको कम्पनीको कारोबार रकम तथा किसिमले|
मूल्य अभिबृधि कर ऐन २०५२ अनुसार विभिन्न वस्तु तथा सेवालाई अनुसुची १ मा राखिएको छ जसमा कुनै पनि किसिमको भ्याट लाग्दैन| अनुसुची १ मा राखिएका वस्तु तथा सेवा बाहेक अन्य सबै बस्तु र सेवामा १३ प्रतिशतले भ्याट लाग्ने गर्छ| अर्थात् यदि हजुरको व्यवसाय पूर्ण रुपमा भ्याट नलाग्ने वस्तु तथा सेवामा कारोबार गर्छ भने भ्याटमा दर्ता गरिराख्नु पर्दैन, प्यानमा मात्रै गरे पुग्छ| तर यदि हजुरको कम्पनी अनुसुची १ बाहेकका बस्तु तथा सेवामा पनि कारोबार गर्छ भने भ्याटमा दर्ता गर्नुपर्ने हुन सक्छ, तर यदि कारोबार रकम निश्चित सीमाभन्दा माथि छ भने मात्र|
मूल्य अभिवृध्दि कर (VAT)को लागि कारोबार सीमा
यसरि भ्याटमा दर्ता हुनको लागि कारोबार सीमा कति हो त?
१. यदि हजुरको कम्पनीले वस्तुमा मात्र कारोबार गर्छ भने 50 लाख
२. यदि हजुरको कम्पनीले सेवामा मात्र कारोबार गर्छ भने 20 लाख
३. यदि हजुरको कम्पनीले बस्तु तथा सेवा दुबैमा कारोबार गर्छ भने पनि 20 लाख
यदि यो कारोबार रकम सीमा नाघ्छ भने हजुरको कम्पनी अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्छ| तर यदि यो सीमा भन्दा कामको कारोबार हुन्छ भने प्यानमा मात्रै दर्ता गरे पुग्दछ|
भ्याटमा दर्ता गरेपछि...
भ्याटमा दर्ता गरेपछि हरेक कम्पनीले मासिक रुपमा, अर्को महिनाको 25 गते भित्र खरिद र बिक्रीको विवरण सहित मस्केबारी अनलाइन विवरण बुझाउनुपर्छ| यसरि बुझाउने क्रममा बिक्रीमा उठाइएको भ्याट रकमबाट खरिदमा तिरिएको भ्याट रकम घटाउन पाइन्छ र बाँकी रकम मात्र तिरे पुग्दछ| त्यस्तै यदि खरिदमा तिरिएको भ्याट रकम बिक्रीमा उठाइएको रकम भन्दा बढी हुन आएमा आउने महिनामा मिलान गर्न पाइन्छ|
नेपालमा विभिन्न कामको लागि भ्याट दर्ता अनिवार्य छ, जस्तै आयात निर्यात कोड प्राप्त गर्न, निश्चित रकम भन्दा बढीको ठेक्कामा निवेदन दिन, निर्माण व्यवसाय सम्बन्धि लाइसेन्स लिन इत्याधि|
यसरि सरसर्ती हेर्दा सबै कम्पनीहरु प्यान नम्बरमा दर्ता हुने गर्छन र निश्चित कारोबार रकम तथा किसिम भएका कम्पनीहरु भ्याटमा दर्ता हुन्छन| यी दुवै नम्बर जम्मा ९ अंकका हुन्छन र परिस्थिति अनुसार प्यानलाई भ्याटमा र भ्याटलाई प्यानमा रुपान्तरण गर्न सकिन्छ|
अब हजुरको नयाँ कम्पनी प्यानमा दर्ता गर्नुहुन्छ कि भ्याटमा? हामीलाई जानकारी गराउन नबिर्सनुहोला| हजुरलाई आफ्नो नयाँ व्यवसाय सफलताको धेरै धेरै शुभकामना!
कम्पनी खाता परिवार
हरेक उधमीको साथी